सेयर बजार ९ महिनायताकै न्युन बिन्दुमा
२२ मंसिर २०७८, बुधबार १८:२६
विराटनगर । सेयर बजार २०७८ सालकै न्यून बिन्दुमा झरेको छ । बजारको परिसूचक नेप्से ५३ अंकले झरेसँगै २४५५ अंकमा कायम भएको छ । यो अंक २०७७ चैत ४ गतेयताकै न्यून विन्दु हो । २०७७ चैत ४ गते बजार २४३१ अंकमा थियो । मुख्यतः बैंकहरुमा तरलताको चरम संकट उत्पन्न भएसँगै बजार प्रभावित भएको हो ।
भदौको ३ गते कारोबार भइरहँदा परिसूचकले ३२ सय अंक नाघेको थियो । कारोबार बन्द हुँदा भने भदौ २ गते ३१९८ को अंक नै हालसम्मकै उच्चतम अंक हो । बुधबार जम्मा २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि पछिल्ला दिनमा घटेको छ । मंगलबार ३ अर्ब १२ करोड तथा सोमबार ४ अर्ब ५४ करोडको कारोबार भएको थियो । बजार उच्चतम अंकमा पुगेका बेला (साउन अन्तिम र भदौको पहिलो साता) दैनिक २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया