कोरोना संक्रमित महिलाले जन्माएकी बच्चाको मृत्यु
२७ श्रावण २०७७, मंगलवार १४:०४
रुकुम पश्चिम । कोरोनाभाइस (कोभिड–१९) संक्रमित महिलाले जन्माएकी बच्चाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको चौरजाही निवासी २८ वर्षीया महिलाले साउन २४ गते राति ९ः३० बजे नेपालगञ्ज मेडिकलकलेज शिक्षण अस्पताल कोहलपुरमा छोरालाई जन्म दिएकी थिइन् । तर, ती बच्चाको सोमबार बिहान १ः३० बजे मृत्यु भएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए ।
‘बच्चाले आमाको पेटमै दिशा गरिसकेको तथा बच्चाको धड्कनसमेत कम भएका कारण तत्काल अप्रेसन गरेर बच्चा निकाल्नु परेको हो,’ कनोडियाले भने ‘जति प्रयास गर्दापनि बच्चालाई बचाउन सकिएन, तर आमाको अवस्था भने सामान्य छ ।’
मृत्यु भएका बच्चाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट मंगलबार बेलुकासम्म आउने अपेक्षा गरिएको उनले बताए ।
भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा प्रसुति गराउन भनेर आएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई भेरी अस्पतालले साउन २४ गते दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरेको अस्पतालका उपनिर्देशक डा. कनोडियाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया