स्थानीय तहको सिफारिसमा ढिलाइ हुदा केरा किसानले क्षतिपूर्ति पाएनन्, आर्थिक अभावले बगैँचा पनि सफा गर्न सकेनन् – Nagarikabhiyan : National News

स्थानीय तहको सिफारिसमा ढिलाइ हुदा केरा किसानले क्षतिपूर्ति पाएनन्, आर्थिक अभावले बगैँचा पनि सफा गर्न सकेनन्

काठमाडौँ । स्थानीय तहबाट तथ्याङ्क सिफारिसमा ढिलाइ हुँदा नवलपरासीका केरा उत्पादक किसानले क्षतिपूर्ति पाउनबाट बञ्चित हुन परेको छ । पात थोप्ले रोगले केरा बाली सखाप पारेपछि किसानले क्षतिपूर्ति माग गरेका थिए । किसानहरूको माग सुनुवाइ गर्न कृषि विकास निर्देशनालयले क्षतिको तथ्याङ्क माग गरेपनि क्षतिपूर्तिमा ढिलाई भएकोप्रति किसान पीडित भएका छन् ।

यता केरा उत्पादक सङ्घ नवलपरासीले तथ्याङ्क सङ्कलन गरी ज्ञान केन्द्रलाई पठाइसकेको सङ्घका अध्यक्ष लक्कु यादवले बताए । ज्ञान केन्द्रले भेरीफाई गरी स्थानीय निकायको सिफारिस ल्याउन भनेको छ । जसको लागि केरा उत्पादक सङ्घले प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकालाई चिठी दिइसकेको छ । प्रतापपुर गाउँपालिकाले सिफारिस दिइसके पनि सुस्ता गाउँपालिकाबाट सिफारिसमा ढिलाइ हुँदा क्षतिपूर्तिमा ढिलाइ भएको उनले बताए ।

सुस्ता गाउँपालिकालाई सिफारिसको लागि मङ्गलवार नै चिठी दिइसकेका छौँ तर सिफर दिन आनाकानी गरिरहेको छ’ उनले भने, ‘जसले गर्दा किसान मर्कामा परेका छन् ।’ क्षतिपूर्ति नपाउँदा किसानले केरा बारी सरसफाइ गर्न नसकेको उनी बताउँछन् । विषादी छर्के पछिकेहि हदसम्म रोग नियन्त्रणमा आएको छ तर किसानहरूले बगैँचा सफा गर्न सकिरहेका छैनन् ।

‘कोरोनाका कारण व्यवसाय थलिएको छ । त्यसमाथि यो वर्ष रोगका कारण किसानले एक कोसा केरा पनि बिक्री वितरण गर्न पाएनन्’ उनले भने,‘किसानसँग एक रुपैयाँ पनि पैसा छैन । केरा बारी सफा गर्न ।’ ‘रोगका कारण कुहिएका पाहहरु सफा गर्न कामदार तथा गाडी आवश्यक हुन्छ । जसका लागि पैसा चाहिन्छ । तर किसानहरुसँग पैसा छैन ।’ उनले भने ।

यता सुस्ता गाउँपालिकाले भने आज सम्ममा सिफारिस दिने जनाएको छ । सङ्घले एक खाले डाटा दिनु भएको छ तर त्यो पुरा हो हैन । कोही छुट्नु भएको छ की भनेर फेरी भेरीफाइ गरिरहेका छौँ ।’ गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए । उनका विपद् व्यवस्थापनको बैठक बसेर आज सम्ममा सिफारिस पठाइसक्ने उनले बताए ।

सुस्ता गाउँपालिकामा २ करोड ५३ लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक क्षति भएको विवरण आएको छ । प्रति बोट ४५० ले हिसाब गरिएको छ । उनका अनुसार गाउँपालिकासङ क्षतिपूर्तिका लागि रकम नभएको पनि बताए । बेर्ना तथा कृषि सामाग्रीहरू अनुदानमा किसानहरुलाई वितरण गरे पनि क्षतिपूर्तिका लागि रकम नभएको उनको भनाई छ । यस्तै कृषि ज्ञान केन्द्र नवलपरासीले पनि क्षतिपूर्तिका लागि सिफारिस माग गरेको जनाएको छ ।

स्थानीय तहबाट सिफारिस आउन बित्तिकै क्षतिपूर्तिका लागि निर्देशनालयमा सिफारिस पठाउने ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत राजेन्द्र यादवले बताए ।
निर्देशनालयबाट क्षतिपूर्ति दिने कुरा भएको पनि उनले बताए । यो वर्ष नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकाका किसानले लगाएका केरामा पात थोप्ले रोग देखिएको थियो । उक्त रोगका कारण अढाई सय बिघामा क्षति भएको सङ्घले जनाएको छ ।

रोग भने कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश मन्त्रालयको सहयोगमा विषादी छर्केर केही हदसम्म नियन्त्रणमा आएको छ । उक्त रोगकै कारण किसानहरूले यो वर्ष एक कोसा केरा पनि बिक्री गर्न पाएका छैनन् ।