सुनसरीमा सर्पदंशको बिरामी बढ्यो , एन्टीस्नेक भेनम आवश्यकता भन्दा कम
१८ श्रावण २०७७, आईतवार १९:१३
इनरुवा । सुनसरीको बिभिन्न पालिकामा पछिल्लो समय सर्पदंशका बिरामी बढेको छ । सुनसरी सदरमुकाम इनरुवा सहित बिभिन्न गाउँपालिका र नगरपालिकामा गर्मी र वर्षासँगै सर्पदंशको बिरामी बढेको हो । गर्मी र वर्षामा सर्पको बिगबिगी बढेंसँगै सर्पदंशको बिरामीहरु समेत बढेका छन् । जिल्लामा चालु आर्थिक वर्षको १७ दिनमा २९ जनालाई सर्पले टोकेको छ ।
साउनको १ गतेदेखी १७ गतेसम्ममा २९ जनालाई सर्पले टोकेर बिरामी भई उपचारका लागि इनरुवा अस्पताल आएको अस्पतालका इर्मेजेन्सी शाखाका इन्चार्ज जनस्वास्थ्य निरीक्षक बिश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यो वर्ष बिष नलाग्ने सर्पको टोकाईबाट घाइते भएकाहरुले उपचार गराएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ५५ जना महिला र ५६ जना पुरुष गरी १ सय ११ जना सर्पको टोकाईबाट घाइते भई उपचार पाएका छन् ।
जिल्लामा आएका बिरामी मध्ये १५ जनालाई बिषालु सर्पले टोकेको र उनीहरुलाई उपचारका लागि एन्टिस्नेक भेनम प्रयोग गरिएको छ भने बाँकी ९६ जनाको समान्य उपचार पछि घर पठाइएको तथ्याङ्क रहेको छ ।
सुनसरीमा सबैभन्दा बढी असार, साउन र भदौंमा सर्पदंशको बिरामी बढने गरेको अस्पतालले जनाएको छ । यो सिजन अध्याधिक गर्मी र वर्षा तथा बाढी आउने भएकाले सर्पदंशको बिरामी बढने गरेको छ । यता अस्पतालमा आउने सर्पदंशका बिरामी बढेको भएपनि सो अनुसारको पूर्व तयारी अभाव देखिएको छ ।
अहिले अस्पतालसँग १ सय भाइल एन्टिस्नेक भनेम रहेको छ भने यो संख्याले बिषालु सर्पले टोकेर आएका १० जनासम्मलाई मात्रै पुग्ने देखिन्छ । अस्पतालले भने अहिले एन्टिस्नेक भेनमको अभाव नरहेको दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया