कोइलाको अभाव देखाउँदै इँटाको मूल्य बढाउने तयारी, मूल्य २० प्रतिशतसम्म बढ्ने अनुमान
१५ मंसिर २०७८, बुधबार १२:२२
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभावसँगसँगै मूल्य पनि बढेपछि घरेलु बजारमा इँटाको मूल्य बढ्ने देखिएको छ । अहिले इँटा व्यवसायीले पुरानो कोइलाबाट उत्पादित इँटा बिक्री गरिरहेका छन् ।
पुरानो इँटामै सरदर ५ देखि १० प्रतिशतसम्म मूल्य बढिसकेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले जानकारी गराए । अब बजारमा आउने नयाँ इँटाको मूल्य अझै १५/२० प्रतिशतसम्म बढ्न सक्ने उनको आँकलन छ ।
अहिले काठमाडौं उपत्यकामा एक नम्बर इँटा प्रतिगोटा १६/१७ रुपैयाँ र दुई नम्बर इँटाको मूल्इ प्रतिगोटा १५/१६ रुपैयाँ रहेको अध्यक्ष चित्रकारले बताए । इँटाको ब्रान्ड, गुणस्तर र ठाउँ अनुसार मूल्य पनि फरक फरक हुने उनको भनाई छ ।
‘अहिले इँटा पोल्ने (फायरिङ)को समय हो, तर कोइला नपाउँदा इँटा भट्टीमा फायरिङ गर्न पाइरहेका छैनौं’ उनले भने, ‘एकातिर कोइलाको अभाव छ, अर्कोतिर कोइलाको मूल्य पनि बढिसकेको छ ।’ कोइलाको मूल्य बढेको हुँदा नयाँ उत्पादन हुने इँटाको मूल्य पनि स्वभाविक रुपमा बढ्ने उनको तर्क छ ।
नयाँ इँटा बजारमा आउँदा मूल्य पनि घट्नुपर्ने थियो । तर, इँटा उत्पादनकै सिजनमा मूल्य बढ्ने आंकलन उद्योगीहरुले गरेका छन् । यसले हिउँदमा घर बनाउँछु भनेर पर्खिएर बसेका ग्राहकलाई केही लागत बढ्ने देखिन्छ ।
घर निर्माणमा इँटा नभई नहुने निर्माण सामाग्री हो । पछिल्लो समय घरमा वाल लगाउनका लागि नयाँ प्रविधिका एएसी ब्लक, एसवाई प्यानल लगायत विकल्पहरु आएपनि उपभोक्ताको रोजाइमा पाकेका राता इँटा नै पर्ने गरेका छन् । अझै पनि ग्राहकले नयाँ प्रविधिप्रति त्यति धेरै विश्वास गर्न थालिसकेका छैनन् ।
इँटाको मूल्य बढे पनि सिमेन्ट र डन्डीको भाउ भने घटिरहेको छ । पछिल्लो समय डन्डीको मूल्य किलोमा १२ रुपैयाँ र सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँसम्म घटिसकेको छ ।
बजारमा सिमेन्ट र डन्डी उत्पादनमा उद्योगीहरुबीच तिब्र प्रतिस्पर्धा हुँदा उपभोक्तालाई राहत मिलिरहेको निर्माण सामाग्री बिक्रेता बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया