अझै रोकिएन सेयर बजार नेप्सेको ओरालो यात्रा – Nagarikabhiyan : National News

अझै रोकिएन सेयर बजार नेप्सेको ओरालो यात्रा

काठमाडौं । नेप्से मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि लगातार ओरालो लागेको सेयर बजार नेप्से घट्ने क्रम अझै रोकिएन ।
मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । मंगलबार कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । सोमबार २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा ओरालो लागेको थियो ।

कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ७ सूचकहरुको घटेको छ । आज जलविद्युत ११.४, विकास बैंक ४०.८८, फाइनान्स ८.८९, निर्जीवन बीमा ९६.६ र अन्य समूहको १४.११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ६.५६, माइक्रोफाइनान्स १०.९५ र जीवन बीमा समूहको उपसूचक ६९.६४ अंकले घटेको छ । मंगलबार कारोबारमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।