जिल्ला प्रशासन कार्यालयद्वारा तालिका अनुसार सेवा प्रवाह – Nagarikabhiyan : National News

जिल्ला प्रशासन कार्यालयद्वारा तालिका अनुसार सेवा प्रवाह

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १२ वटा पालिकालाई तालिका अनुसार सेवा प्रवाह गर्ने भएको छ । प्रशासनले कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारको साउन ५ गतेको आदेश तथा निर्णय अनुसार कार्यालयमा भिडभाड नगर्न आग्रह गर्दै दुई पालिकालाई हप्तामा एक दिन सेवा दिने गरी तालिका अनुसार सेवा प्रवाह गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका दुई दुई पालिकालाई पर्ने गरी ६ दिनकै कार्यतालिका सार्वजनिक गर्दै सेवा प्रवाह गर्ने सुचना जारी गरेको छ । प्रशासनको कार्यतालिका अनुसार आइतवार धरान र इटहरी उपमहानगरपालिका, सोमवार रामधुनी नगरपालिका र बर्जु गाउँपालिका, मंगलवार बराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिका, बुधवार कोशी र देवानगंज गाउँपालिका, बिहिवार दुहबी नगरपालिका र गढी गाउँपालिका तथा शुक्रवार इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई प्रशासनले सेवा दिने भएको छ ।

सो बाहेकका बारमा उल्लेखित भएका पालिकाहरुलाई सेवा दिनका लागि अति आवश्यकीय शान्ति सुरक्षा र संघ संस्था तथा पत्रपत्रिका दर्ता बाहेक सम्पूर्ण सेवाहरु प्रवाहका लागि पालिका कुर्नु पर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार शान्ति शुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्वन्धी कार्यहरु भने सधै हुने र अन्य सेवाहरु तोकिएको दिन र बार मिलाएर मात्र सम्वन्धीत सेवाग्राहीहरुलाई कार्यालयमा प्रवेश गर्न आग्रह गरिएको छ । यो नियम र कार्यतालिका आइतवारदेखी लागु हुने सुनसरी प्रशासनले जनाएको छ ।