लकडाउनले प्रभावित बालबालिका माछा मारेर दिन बिताउँदै
१७ श्रावण २०७७, शनिबार १५:२५
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका स्कूले बालबालिकाहरु पाँच महिना यता लकडाउनले प्रभावित बनेपछि माछा मारेर दिन बिताउन थालेका छन् ।
विद्यालय लगातार पाँच महिनादेखी बन्द रहेकाले बालबालिकाहरु फुर्सदिला भएकाले माछा मार्न ब्यस्त बनेको इनरुवा ९ बवियाका रामचन्द्र शर्माले बताउनुभयो । लकडाउनले न विद्यालय खुलेको छ , न कतै कोचिङ्ग टियूसन चलेको छ , न शिक्षकहरु नै नजिकमा छन् । त्यसैले स्कूले बालबालिकाहरु टाइमपास गर्न माछा मार्न ब्यस्त बनेको शर्माको भनाई रहेको छ । जिल्लाका एक लाख पचास हजार बढी विद्यार्थीहरु मध्ये अधिकाँश आफनो घरपरिवार सँग बसेको र केही माछा मारेर दिन बिताउँदै आएका छन् ।
दैनिकजसो खोला नाला र झरना पैनीमा माछा मार्न बालबालिकाहरु निस्कने गरेको अधिकारकर्मी सोनी यादबले बताउनुभएको छ । यादवका अनुसार कोही बालबालिका खेलेर त कोही माछा मारेर दिन बिताउने गरेका छन् ।
बालबालिकाहरुले रहर र बाध्यता दुबै हिसाबले माछा मार्न जाने गरेको गढी गाउँपालिका २ औराबनीका सुरेन्द्र चौधरीले बताउनुभयो । चौधरीका अनुसार गढी गाउँपालिकाका दलित र मुसहर समुदायका बालबालिकाहरु बढी मात्रामा माछा मार्न जाने गरेका छन् ।
माछा मार्दै गरेको अवस्थामा भेटिएका गढी २ भमरीका साजन सदाले घरमा बस्न मन नलागेको र लामो समय विद्यालय बन्द भएकाले माछा मार्न आएको बताउनुभयो । सदाले आफनो गाउँका ४० बढी बालबालिकाहरु दैनिक माछा मार्नका लागि थलाहा खोला , ज्वला खोला, पैनी , नहर लगायतका क्षेत्रमा जाने गरेको सुनाउनुभयो । उता इनरुवा ९ बवियाकी सरिता शर्माका अनुसार बालबालिकाहरु विद्यालय बन्दले माछा मार्ने काम मात्र नभई जुवातास र कुलतमा समेत फसेका छन् ।
बालबालिकाहरुलाई समयमा अभिभावक र सरोकारवालाहरुले सचेत नगराए उनीहरुको भविष्य नै अन्यौल ग्रस्त हुन सक्ने अधिवक्ता सुकदेव चौधरीले बताउनुभयो । हरिनगर ४ का मुसहर समुदायका बालबालिकाहरु पनि मरिया खोलामा माछा मारेर दिनचर्या बिताउने गरेको रामचन्द्र ऋषिदेवले बताएका छन् । विद्यालय बन्द भएपछि माछा मारेर घरपरिवारसँग बस्नुको साट्टो वर्षा भएकाले माछा मार्न सजिलो भएको हुदाँ दिनहुँ माछा मार्ने काममा नै ब्यस्त भएको ऋषिदेवको भनाई रहेको छ ।
यहाँका कतिपय बालबालिकामा विद्यालय बन्द र कोरोनाको त्रासले मानसिक समस्या समेत देखिन थालेको स्वास्थ्यकर्मी सन्तोश मेहताले बताउनुभयो । मेहताका अनुसार नियमित पढ्ने र विद्यलाय जाने, गृहकार्य गर्ने, साथीभाईसगं भेटघाट गर्ने अवसरबाट बन्दाबन्दीले प्रभावित भएपनि माछा मार्ने काम मात्रै नभई बालबालिकाहरुमा मानसिक समस्या समेत देखिन थालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया