कामदार भिसामा बेलायतले १० हजार नेपाली नर्स माग्यो, कस्ता नर्सले पाउँछन् बेलायतमा जागिर ?
८ मंसिर २०७८, बुधबार १२:५९
बेलायतले १० हजार नेपाली नर्सहरु लैजाने इच्छा देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले १० हजार नेपाली नर्सहरु लैजाने इच्छा बेलाएतले देखाएको जानकारी दिएका हुन् ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुलाई जानकारी दिंदै सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने भएको बताए ।
सचिव गौतमले सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताए ।
उनले कोभिडपछि बेलायतमा झन्डै एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आबद्ध भएका कामदार लाने तयारी भएको बताए ।
सचिव गौतमका अनुसार बेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ । बेलायतले पहिलो चरणमा पाँच हजार नर्सलाई लाने र बिस्तारै थप गर्दै जाने प्रारम्भिक सहमति समेत गरेको सचिव गौतमले बताए ।
सचिव गौतमका अनुसार बेलायत जाने नर्सले वार्षिक २४ हजार पाउन्ड स्टर्लिङ अर्थात् झन्डै ४५ लाख रुपैयाँ तलब पाउनेछन् । सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बरभित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिबद्धता जनाएको बताए ।
त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोलीसमेत गठन भइसकेको सचिव गौतमले बताए ।
कस्ता नर्सले पाउँछन् बेलायतमा जागिर ?
मन्त्रालयका सचिव गाैतमका अनुसार अहिलेलाई अनुभव भएका नर्सले मात्र बेलायत जान पाउने छन् । ‘बेलायत विकासित मुलुक हाे । त्यसैले यहाँबाट पठाइने नर्सहरू दक्ष र अनुभवी हुने छन् । बेलायत जाने नर्ससँग नेपालमा पर्याप्त तालिम, केही अस्पतालमा काम गरेकाे अनुभव हुनुपर्ने छ’, उनले भने ।
बेलायतका लागि छानिने नर्सकाे मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने श्रम मन्त्रालयले जनाएको छ ।
रोजगारीमा बेलायत नर्स पठाउँदा रोजगारीको ग्यारेन्टी, परिवारिक सुविधा, स्वास्थ्यसँगै रोजगार र अन्य बीमा, आतेजाते खर्च, तलब प्रष्ट खुलाएर, उनीहरूको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहाेर्नेगरी सम्झौता हुने गाैतमले बताए ।
दुवै देशबीच चाँडै श्रम सम्झौता भए सन् २०२२ को मध्यतिर नर्स रोजगारीमा पठाउन सकिने श्रम मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया