क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएका मस्जिदहरु खाली गर्न निर्देशन
४ बैशाख २०७७, बिहीबार १०:५९
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम समुदायका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएका मस्जिदहरु खाली गर्न निर्देशन दिएको छ । मस्जिदमा बस्ने र बसाउने क्रमले असावधानी बढ्न सक्ने भन्दै सुनसरी प्रशासनले त्यस्तो कदम चालेको हो ।
प्रशासनका अनुसार बाहिरबाट आएर मस्जिदमा शरण लिई बस्न सक्ने सम्भावना र त्यसले समाजमा फैलाउने त्रासका साथै सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर उक्त कदम चालिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार मस्जिद खाली गरिएको भन्ने अर्थलाई गलत ढङगले लिन भने नहुने बताउनुभयो । पौडेलका अनुसार सुनसरीका विभिन्न मस्जिदमा ५२ जना बस्दै आएका थिए । उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन स्थलमा सारिएको पौडेलले बताउनुभयो ।
सुनसरीको हरिनगर, दुहवी, इटहरी, बर्जु र भोक्राहाका विभिन्न मस्जिदहरुमा भारतीय र पाकिस्तानी नागरिक सहित बंगालीहरु बस्दै आएको फेला परेका थिए । सुनसरीका केहि मस्जिदहरुमा मुस्लिम समुदायका व्यक्तिहरुलाई राखिएकोमा अब भने त्यसो गर्न नपाइने प्रशासनले जनाएको छ । मस्जिदलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरी व्यक्तिहरुलाई राख्दा त्यहाँ अन्यको समेत आवतजावत हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने प्रशासनको ठहर छ ।
सुनसरी प्रशासनले दिएको जानकारी अनुसार अब उपरान्त जिल्लाका कुनैपनि मस्जिदमा कोही कसैलाई राख्न पाइने छैन् । लुकीछिपी बस्दै आएको भेटिए कानुन बमोजिम कार्वाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले कुनै मस्जिदमा लुकीछिपी कोही व्यक्ति बस्दै आएको भए जानकारी गराउन समेत मुस्लिम अगुवाहरु समक्ष आग्रह गरेको छ । सुनसरीका ८१ वटा मस्जिद
प्रशासनमा दर्ता रहेका छन् । सुनसरी प्रशासनले मुस्लिम समुदायलाई मस्जिदमा भिडभाड नगरी सकेसम्म घरमै बसी प्राथर्ना गर्न भनेको छ ।
भारतसँग सीमा जोडिएकाले समेत सुनसरीमा प्रशासन कडाई गरेको छ । सीमामा सर्तकता बढाउनुका साथै लक डाउनको पालना गराउन सुरक्षाकर्मीलाई तैनाथ गरिएको प्रशासनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया