विराटनगरमा युवा उद्यमी महिला सम्मेलनको तयारी – Nagarikabhiyan : National News

विराटनगरमा युवा उद्यमी महिला सम्मेलनको तयारी

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले यही मंसिरमा एकदिने ‘युवा उद्यमी महिला सम्मेलन’ गर्ने भएको छ ।
प्रदेश नं. १ का महिलाहरूलाई व्यापार व्यवसायमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मंसिर १८ गते सम्मेलन गर्न लागिएको अध्यक्ष युनेशराज श्रेष्ठले बताए । उक्त सम्मेलन भर्खरै व्यापार व्यवसायमा लागेका र भविष्यमा व्यापार गर्ने सोच बनाएकाहरूका लागि फलदायी हुने उनको भनाइ छ । महिलाहरूलाई व्यावसायिक क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै आवश्यक विषयमा सहजीकरण पनि गरिने कार्यक्रम संयोजक अनमोल प्रधानले जानकारी दिए ।

सम्मेलनमा उद्यमी व्यवसायीबीचमा व्यापार विस्तारलगायतका विविध विषयमा समूहगत अन्तरक्रिया कार्यक्रम पनि हुने जनाइएको छ । साथै सफल उद्यमीले व्यापार व्यवसाय गर्दा भोगेका तीतामीठा अनुभव र अन्य विभिन्न रोचक कार्यक्रमहरू पनि गरिने संयोजक प्रधानले बताए । सम्मेलनमा सानादेखि ठूला उद्योगी व्यवसायीहरू सबैको सहभागिता रहने महिला संयोजक अदिती लोहियाले जानकारी दिइन् ।