मानव अधिकार सम्बन्धी अन्तरकृया सम्पन्न
२८ कार्तिक २०७८, आईतवार १६:१४
इनरुवा । सुनसरीको कोशी गाउपालिका ३ नम्बर वडा पश्चिमकुशाहाको राष्टिय माविमा मानव अधिकार समूहसंगको सहकार्य र वडा कार्यालयको संयोजन तथा इन्सेकको सहयोगमा कार्तिक २८ गते मानव अधिकार बारे वडास्तरीय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका सदस्य पनव रौनीयारको अगुवाई अध्यक्षता तथा कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीको प्रमुख आथित्य तथा वडा सदस्य बराहिम मंसुरी, सरिता देवी मण्डल र सियाराम साहको विषेश आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विषयहरुमा राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरु, विद्यालयका प्रधानाध्यापक तथा समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी कोशी गाउँपालिका ३ की मन्जु उराँवले शिक्षाका लागि आफूले विद्यालयलाई जग्गा दान गरेको र विगतको भन्दा शैक्षिक गुणस्तर सुध्रेको दावी गर्नुभयो । उराँवले स्वास्थ्य संस्थामा भने बेलाबखतमा औषधीको अभाव भएको गुनासो गर्नुहुदै औषधीको नियमिततामा जोड दिनुभयो । अर्का स्थानीय सहभागी ललिता यादवले कृषिमा आउने अनुदान पहुचबालाले पाएकाले बास्तविक किसान मारमा परेको र मलखाद्यकै अभाव रहेको भन्दैं समयमा र सर्भसुलभ रुपमा मल र बिउ उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । प्रधानाध्यापक जितन साहले एक मुष्ट रुपमा दिने विद्यालय अनुदानको रकम विधार्थीको अनुपातको आधारमा दिनुपर्ने सुझाव दिनुभयो । कतै शिक्षक अभाव त कतै विधार्थी अभाव भएकाले त्यसमा अनुगमन गरी शिक्षक मिलान गर्नुपर्ने सुझाव दिनुभयो । दिवा खाजा राम्रो कार्यक्रम भएपनि त्यसमा केहीले रकम बाड्ने र केहीले मात्रै खाजा खुवाएको गुनासो आफूले सुनेकाले सम्बन्धीत पक्षले अनुगमन गरि त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सुकुम्बासीलाई वितरण गरिएको जग्गामा बाटोघाटो, विधुत र खानेपानी सहितको विकासको पूवाधार कुरा नभएको भन्दै आबास अधिकारको ग्यारेण्टीमा जोड दिनुभयो । कोशी गाउँपालिका ३ का साराउद्धिन मियाँले धान खेत चौपट भएकाले गाउँमा खाध्य संकट आउन सक्ने गुनासो गर्नुभयो । वहाँले धानलाई बाढी पानीले बगाएको र खाली हुने खेतमा एक।दुई हप्तापछि गहुँ छर्ने सिजन सुरु हुनेभएपनि अहिलेदेखी नै बजारमा मल र बिउको अभाव भएकाले चिन्तामा डुबेको गुनासो गर्नुभएको छ । किसान छेदीलाल उराँवले कोशीका किसान र सुकुम्बासीको ठूलो समस्या रहेकाले यसमा सरकार र सरोकारबालाहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गरिब विपन्न तथा दलित र सुुकुम्बासी समस्या समाधानमा कसैले ध्यान नदिएको भन्दै आबास अधिकारबाट बन्चित भएको गुनासो गर्नुभयो । कोशी बाढी पीडित भएकाहरुलाई तीस विघा जग्गा उपलब्ध गराएको भएपनि त्यसमा बाटो, विधुत र खानेपानी सहितको आधारभुत कुरा नभएको भन्दै आबास अधिकारको ग्यारेण्टीको माग गर्नुभयो ।
अर्का सहभागी समसुल मंसुरीले वडाको हरिपुर शाखा नहर सिचाईका लागि अतिक्रमण भएकोले मर्मत सम्महार गर्नुपर्ने तथा सिचाईको पहुच नभएको क्षेत्रमा भुमीगत सिचाईका लागि पहल गर्नुपर्ने र कृषि उत्पादन बढाउनुपर्ने सुझाव दिनुभयो ।
सहभागी स्थानीयबासी तथा पत्रकार मिकाईल आलमले कोशीमा विद्यालय भएर पनि पढाई नभएको भन्दै गुनासो आएकोमा जनप्रतिनिधि आएपछि शैक्षिक क्षेत्रमा सुधार आएको, स्वास्थ्य संस्था वडातहसम्म पुगेको र पहिलो पटक हरिपुरमा पनि प्रसुती सेवा संचालन भएको बताउनुभयो । त्यसैगरी कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पठनपाठन सुरु हुने गरी कक्षाको उद्घाटन भएकाले शैक्षिक क्षेत्रमा फड्को मार्ने काम भएको बताउनुभयो । प्रयाप्त नभएपनि गाउँटोलमै घरको खाएर शिक्षा आर्जन गर्न पाउने अवसर कोशी २ र ३ का विधार्थीहरुलाई मिलेको भएपनि सबै वडामा थप ध्यान दिई शैक्षिक गुणस्तरका लागि अनुगमन बढाउनुपर्ने र राम्रो गर्नेलाई पुरस्कृत तथा नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने सुझाव दिनुभयो ।
वहाँले सुकुम्बासीहरु र बाढी पीडितहरुको केही माग अझै पुरा नभएकाले त्यसमा ध्यान दिएर आबास अधिकार र खाध्य अधिकारको प्रत्याभुती गराउनुपर्ने बताउनुभयो । स्थानीय बुद्धीलाल सरकारले किसानहरुको समस्या समाधान गर्नका लागि मानव अधिकार समुहले सम्वन्धि निकायमा पहल गर्नुपर्ने सुझाव दिनुभयो । सरदारले गाउँमा शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षा र विधार्थीलाई नियमितताका लागि कार्यक्रम संचालन गर्नुपर्ने, विधार्थी र विद्यालय सरसफाईमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी कोशी ३ का वडा सदस्य सरितादेखी मण्डलले स्वास्थ्य चौकीमा निशुल्क औषधी नियमित र पर्याप्त हुनुपर्ने, गाउँका सुकुम्बासीहरुलाई अबासको ग्यारेण्टी गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका पत्रकार तथा स्थानीयबासी अजितकुमार झाले बाढी डुबानमा परेका किसानलाई राहतको व्यवस्था गर्नुपर्ने, मल विउँको समयमा व्यवस्था मिलाउनुपर्ने र शिक्षानले उत्पादन गरेको अनाजको बजार मूल्य तोक्नुपर्ने माग गर्नुभयो । मानव अधिकारको प्रत्याभुतीका लागि उठाएको सवालमा सरकार गम्भिर बन्नुपर्ने सुझाब समेत यादवले दिनुभयो ।
त्यसैगरी सहभगी पत्रकार टोमराज मेहता र नसिम अंसारीले स्थानीय तहमा जनप्रतिनिधि आएपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै सुधार आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष सुलेमान मंसुरीले गाउँपालिका र प्रदेश अनि संघीय सरकारको कार्यक्रमहरु वडामा प्रभावकारी रुपमा संचालन भई शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारको प्रत्याभुती हुने गरी काम भएको बताउनुभयो । वहाँले शिक्षामा आफ्नो वडा अगाडी रहेको र आफू १२ वर्षसम्म कोशी गाउँपालिका ३ को राष्टिय माध्यमिक विद्यालय सोभनपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको र हाल पदेन सदस्य भएकाले प्राविधिकधारको सिविल इन्जिनियरिगं तथा हालै कक्षा ११ को उद्घाटन भएको बताउनुभयो । विद्यालयमा सबै पक्षको समन्वय र सहकार्यमा राम्रो काम भएको बताउनुभयो ।
स्वास्थ्य चौकीमा राम्रो सेवा प्रभाह भएको जानकारी दिदै केही कम्जोरी भएको खण्डमा सुधारका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । चौकीको भवन भएको जग्गामा मुद्धा भएकाले भौतिक संरचना चाहेर पनि बनाउन समस्या भएको बताउनुभयो ।
सुकुम्बासी र आबास अधिकारका लागि आफूले संघीय सरकारसम्म पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा कोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले गाउँपालिकाले बनाएको शिक्षा निती अनुसार काम गर्न आग्रह गर्दै विधालयहरुलाई इमान्दारिपूर्वक विधार्थीको हितमा काम गर्न आग्रह गर्नुभयो । राज्यले मौलिक हकको रूपमा राखेको शिक्षाको अधिकारलाई गाउँपालिकाले पनि प्राथमिकतामा राखेको उहाँले बताउनुहुदै विद्यालयमा दिवा खाजा व्यवस्थापन, निःशुल्क प्याड, शिक्षक तालिम, बाल कक्षा सञ्चालन जस्ता कार्यक्रमहरू गरेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत कोशी गाउँपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारको क्षेत्रमा समस्या र समाधानका लागि पैरवी गर्ने विषयमा छलफल प्रभावकारी भएको र सबै वडामा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार समूहका सदस्य पवन रौनीयारले मानव अधिकारका विषयमा इन्सेकका गतिविधिहरू अभियानमुखी भएकोमा खुशी व्यक्त गर्नुभयो । इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले कार्यक्रम सञ्चालनको क्रममा आएका समस्यालाई सम्बन्धित निकायबाट समाधान गर्नेर सो हुन नसके स्थानीय सरकार तथा प्रदेश र केन्द्र सरकारसम्म पैरवी गरी वास्तविक पीडितलाई न्याय दिलाउन इन्सेक सधैँ तत्पर रहेको बताउनुभयो ।
मदर्शा मदिन उलुम विद्यालयका प्रधानाध्यापक मुख्तार आलमले शिक्षा क्षेत्रमा निजीकरण भइरहेको बताउदै शिक्षा सस्तो र सुलभ मुल्यमा सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । वहाँले शिक्षामा एक रुपता हुनुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थी सुनिता उराँवले विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप आयोजना गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रमका सहभागीहरूले पछिल्लो समय विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण र दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएपछि नियमित विद्यालय आउने विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि भएको बताएका थिए ।
पत्रकार सज्जाद आलमले एकआध विधालय राम्रो भएर नुहुने भन्दै प्रत्येक विद्यालयको शिक्षा राम्रो बनाउन अनुगमन बढाउनुपर्ने, दलित बस्तिका कयौ बालबालिकाहरु विद्यालयसम्म पुग्न नसकेकाले भर्नामा ध्यान दिनुपर्ने बताउनुभयो । कोशीका सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले शैक्षिक क्षेत्रमा थप प्रभावकारी बनाउन दुई वटा वसको व्यवस्था भइदिए राम्रो हुने सुझाव दिनुभयो। मेहताले कोशीमा दुई खाले सुकुम्बासी भएको बताउनुभयो । एउटा जग्गा भएर पनि बालुवाले पुरिएकाले उत्पादन नहुने अवस्था र अर्को जग्गा नै नभएको सुकुम्बासी रहेको बताउदै दुवैको समाधान खोल्न संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया