जनकपुरमा दुई समूहको विवादले उग्ररूप लिँदा भोलि १० बजे रातिसम्म निषेधाज्ञा
२७ कार्तिक २०७८, शनिबार १८:४३
जनकपुरधाम । धनुषाको जनकपुरधाममा दुई समूहबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि भोलि राति १० बजे सम्मको लागि निषेधाज्ञा जारी भएको छ । छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजको झडपमा दुवै समूहका र प्रहरी गरी केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाइ फायर पनि गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया