आज नाग पञ्चमी, नाग देवताको पूजा अर्चना गरि मनाइँदै
१० श्रावण २०७७, शनिबार ०९:४२
इनरुवा । आज नाग पञ्चमी । आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिँड्ने जनावरहरुको पूजा अर्चना गरि नाग पञ्चमी मनाइँदै छ ।
श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्दा नाग देवता समक्ष पुग्ने जनविश्वास रहिआएको छ । वैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूज्ने गरिन्छ ।
यिनै नागहरु अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरु आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ ।
नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गर्छन् ।
उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे ।
तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।
यस दिन नागदेवताको पूजा अर्चनाका लागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ ।
यसैगरी आज अब विस्तारै वर्षा ओरालो लाग्ने र चाडवाडहरुको मौसम शुरु हुने गर्छन । अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया