हैजाविरुद्धको खोप लगाउने सरकारको तयारी – Nagarikabhiyan : National News

हैजाविरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाडौँ । सरकारले नेपालमा हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ । कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा समस्या परेपछि सरकारले खोपका लागि अन्तराष्ट्रिय नियकासँग पहल गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको छ । ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको प्रवक्ता डा पौडेलले जानकारी दिए ।

उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो । उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ ।

उक्त खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ । कपिलवस्तुमा गत १८ असोजदेखि फैलिएको झाडापखालाबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।