पश्चिम कुशाहा स्वास्थ्य चौकीमै छैन सौचालय
२३ आश्विन २०७८, शनिबार १२:२५
कोशी । सुनसरीको कोशी गाउँपालिका ३ पश्चिम कुशाहा स्वास्थ्य चौकीमा सौचालय नभएकोले स्वास्थ्यकर्मी र सेवाग्राही दुवै मारमा परेका छन् । आफ्नै सौचालय नभएकाले खुल्ला ठाउँमा वा बजारको अन्य व्यक्ति वा संस्थाको सौचालय प्रयोग गर्न बाध्य भएको गुनासो गरेका छन् ।
एकातिर सागुरो ठाउँमा एउटै कोठामा ओपीडी पुर्जी काट्ने र परीक्षण तथा चेकजाँच गर्न बाध्य भएको गुनासो गर्दै आएका स्वास्थ्यकर्मीले आफूहरुलाई सौचालय अभावमा सेवा गर्नुपर्दा सेवाग्राहीको गाली खानु परेको समेत गुनासो गरेका छन् ।स्वास्थ्य चौकी र साविकको गाविस भवनसगैं भएकाले एउटा सौचालयले दुवै कार्यालयका कर्मचारी र सेवाग्राहीले काम चलाउदै आएकोमा गत वर्ष कोभिड अस्पताल संचालन गरेकाले त्यहाँ रहेको सौचालय फोहोर भएर प्रयोग विहिन जस्तै बनेको एक स्वास्थ्यकर्मीले बताउनुभयो ।
स्वास्थ्य चौकी प्रमुख आशा मेहताले चौकीमा सौचालयको आवश्यकताको बारेमा गाउँपालिका र स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालयसम्मलाई जानकारी गराउदाँ समेत चौकीको जग्गा विवाद र मुद्धाका कारणले वास्ता नगर्दा आफूहरु सौचालय अभावमा काम गर्न बाध्य भएको गुनासो गर्नुभयो । मेहताले पुरुष कर्मचारी बाहिर गएर दिसा पिसव गरेपनि महिला कर्मचारीलाई भने कार्यालय समयमा सौचालय अभावको समाना गर्नुपरेको गुनासो गर्नुभयो ।
यता स्वास्थ्यकर्मीको गुनासोको बारेमा प्रतिकृया दिदै कोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जमिल अख्खतरले समस्या समाधानमा आफूहरु लागि परेको बताउनुभयो । वडा र पालिकालाई पनि समस्याबा बारेमा जानकारी भएकाले क्रमशः सम्बोधन गर्दै जाने प्रतिकृया दिनुभयो ।
वडा अध्यक्ष सुलेमान मंसुरीले कार्यालय भवन रहेको जग्गामा मुद्धा चलेकाले चाहेर पनि काम गर्न र सौचालय निर्माण गर्न नसिकएको बताउदै पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया