रुप्सेखोलाको बाढीले रेष्टुरेन्ट र सवारी साधन बगायो – Nagarikabhiyan : National News

रुप्सेखोलाको बाढीले रेष्टुरेन्ट र सवारी साधन बगायो

बेनी । भारी वर्षापछि म्याग्दीको रुप्से खोलामा आज (सोमबार) दिउँसो आएको बाढीले सडक, सवारी साधन र रेष्टुरेन्ट बगाएको छ ।

बेनी-जोमसोम सडक अन्तरगत रुप्से झरना परिसरमा रोकिराखेको एउटा बस, एक्साभेटर र गडल्याड वाटर फल रेष्टुरेन्ट बगाएको वडा सदस्य हस्तबहादुर पुनले बताएका छन् ।

खोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणमा प्रयोग भएको एक्साभेटर बगाएको हो । उनका अनुसार रुप्से झरना परिसरमा रहेको मन्दिरसमेत बाढीले बगाएको छ । करिब एक घण्टा बाढी आएको थियो ।

सडक छेउ र खोलाको किनारमा रहेको रेष्टुरेण्टको सबै भाग बगाएको छ,’ उनले भने, ‘बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको छ ।’ रुप्से कालीगण्डकीको सहायक नदी हो । कालीगण्डकीमा आएको बाढीले दानामा निर्माणाधीन २२० केभी क्षमताको सब स्टेशन र क्रशर उद्योग कटानको जोखिममा परेको स्थानीय गंगा पुनले जानकारी दिए ।

बाढीका कारण कालीगण्डकी, म्याग्दी र राहुघाट नदीको सतह बढेको छ । भुरुङ्ग तातोपानीका बासिन्दा कटानको त्रासका कारण सुरक्षित ठाउँतर्फ गएको स्थानीय प्रेम गुरुङले बताए ।

तटीय क्षेत्रमा रहेका दरवाङ्ग, बाबियाचौर, तातोपानी, बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगरमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा कटानको जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।