संघीय निजामति सेवा विधेयक सरकारले फिर्ता लियो, कर्मचारीलाई तह लगाउन अध्यादेश ल्याईने – Nagarikabhiyan : National News

संघीय निजामति सेवा विधेयक सरकारले फिर्ता लियो, कर्मचारीलाई तह लगाउन अध्यादेश ल्याईने

काठमाडौं ।  सरकारले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिएको छ। संसदको राज्य व्यवस्था समितिले लामो छलफलबाट अन्तिम रुप दिइसकेको विधेयकलाई संसदबाट पारिज गराउनुको साटो सरकारले शुक्रबार फिर्ता लिएको हो।

निजामति सेवालाई व्यवस्थित बनाउनका लागि महत्वपूर्ण सुधार गर्दै पारित गरेर कानुनी रुप दिनुको सट्टो सरकारले हाउसबाट फिर्ता लिएको हो।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शरेबहादुर देउवालेको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की फिर्ताका प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध र नाराबाजीका बीच सदन फिर्ताका लागि अनुमति दिएको छ। शुक्रबार पनि एमालेले सदनमा विरोध कायमै राखेको हो।

विधेयक फिर्ता लिएर सरकारले अध्यायदेशमार्फत कानुनलाई निरन्तरता दिने तयारी गरेको छ।

त्यस्तै सरकारले राष्ट्रियसभाले पारित गरेर पठाएको रेल्वे विधेयक, २०७६ लाई समेत फिर्ता लिएको छ। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधिन रहेको “रेल्वे विधेयक, २०७६” फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिशका लागि सदनले अनुमति दिएको छ।

विधेयक फिर्ता लिने प्रस्तावको नेमकिपाका सांसद प्रेम सुवालले विरोध जनाएका छन्। सदनमा पेश भइसकेको विधेयक फिर्ता लिनु आपत्ति जनक भएको बताए। उनले भने, ‘सदनमा पेश भएको विधेयक फिर्ता लिएर, अधिवेशन अन्त्य गरेर अध्यादेशबाट देश चलाउनु लोकतन्त्रन विरोधी कार्य हो। यो पञ्चायत फर्कानु फर्काउनु जस्तै हो। यस्तो काम बन्द हुनुपर्छ।’

प्रतिनिधिसभाको बैठक असोज २५ गतेसम्मका लागि स्थगित भएको छ।