क्षेत्रिय कारागार झुम्कामा दरबन्दी छ स्वास्थ्यकर्मी छैन – Nagarikabhiyan : National News

क्षेत्रिय कारागार झुम्कामा दरबन्दी छ स्वास्थ्यकर्मी छैन

सुनसरी । प्रदेश १ कै सबै भन्दा ठूलो क्षेत्रिय कारागार झुम्कामा दरबन्दी भएर पनि स्वास्थ्यकर्मी नहुदाँ कैदीबन्दीलाई समस्या भएको छ । सुनसरीको रामधुनी नगरपालिका ५ मा रहेको झुम्का कारागारमा दुई जना हेल्थ असिस्टेन(एचए) र एक जना सिएमएको दरबन्दी भएर पनि एकै जना स्वास्थ्यकर्मी नभएकाले कैदीबन्दीहरुलाई सामान्य रुघाखोकी वा ज्वरोको बेलामा पनि उपचार गर्न समस्या भएको हो । तीन वर्षयता लोकसेवा आयोगले नयाँ हेल्थ असिस्टेन(एचए)को विज्ञापन नगरेकाले दरबन्दी भएर पनि स्वास्थ्यकर्मी नभएको कारगारका निमित जेलर राजेन्द्र कुमार कार्कीले जनाकारी दिनुभयो । स्वास्थ्यकर्मी नहुदाँ सामान्य सिजनल फूलु , रुघामर्की सहित विरामी भएका र नियमित सुगर, प्रेसर, मुटु रोगको औषधी खाईरहेकाहरु र अन्य कैदीबन्दीहरुलाई उपचार गर्न समस्या भएको कार्कीले बताउनुभयो । कार्कीका अनुसार प्रदेशकै ठूलो कारागार भएको र यसमा देशैभरका विभिन्न जिल्लाका कैदीबन्दी रहेकाले अतिआवश्यक रहेको स्वास्थ्यकर्मी नै नहुदाँ समस्या भएको छ । कार्कीले समयमा चाहेर पनि आफूहरुले स्वास्थ्य सेवा दिन नसक्दाँ काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो । वहाँले बिडम्बनापूर्ण अवस्था रहेको गुनासो गर्दै सामान्य रुघाखोकी वा ज्वरोको विरामीलाई पनि बेलामा उपचार गर्न गराउन समस्या भएको र जटिल खालका विरामीलाई नियमित अस्पताल लान ल्याउन र अन्य विरामी कैदीबन्दीलाई समेत इनरुवा अस्पताल र वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लानुपर्ने अवस्था आएको खण्डमा पनि ओसार्ने सवारीको अभाव भएको बताउनुभयो ।
कहिलेकाही धेरै जनालाई स्वास्थ्य समस्या भएको गुनासो आएपनि सिमित स्रोत र साधन भएकाले चाहेर पनि लान समस्या भएको कार्कीको भनाई छ ।
कारागारमा दुई वटा सवारी भएपनि एउटा मात्रै काम चलाउ अवस्थामा र त्यो पनि पुरानो भएकोले कैदीबन्दीका लागि अस्पताल र उपचार स्थलसम्म लान एम्बुलेन्स वा गाडी आवश्यक रहेको कार्कीको भनाई छ । कारागारमा हाल एक हजार आठ सयको संख्यामा कैदीबन्दी रहेकोमा सवारी र स्वास्थ्यकर्मी दुवै अभाव रहेकोमा एउटा संस्थाले दिएको कारारका एक जना सिएमएले काम चलाईरहेको समेत कार्कीले बताउनुभयो । कार्कीका अनुसार कैदीबन्दीको उपचार र अस्पतालसम्म लाने सवारीको अभाव रहेकोभए पनि अन्य सेवा र सुविधा राम्रो रहेको छ । कारागारमा दुई ब्लक रहेकोमा सबै मानव अधिकारमैत्री रहेको, मनोरन्जनका लागि एलसीडी र टेलीभिजन, पत्रपत्रिका, रेडियो , काम गर्नेहरुलाई मुढाबनाउने, ढाकाका कपडाको काम गर्ने वतावरण समेत भित्रै दिएको कार्कीको भनाई छ । एउटा संस्थाले दिएको कारारका एक जना सिएमएले काम चलाईरहेको समेत कार्कीले बताउनुभयो ।
कारागारको कक्ष र पूर्वाधार राम्रो भएपनि एक हजार ६ सयको क्षमता रहेको झुम्का कारागारमा अठार सयको संख्यामा पुरुष कैदीबन्दी रहेका छन् । यहाँ प्रवेशको अवस्था, झ्यालहरुको अवस्था, सूरक्षाको अवस्था,रंगरोगनको अवस्था, कैदीबन्दीको संख्या अनुपातमा खाइपाइ आएको खाना, दिशापिसा वगर्ने सौचालय, नुहाउने, लुगा धुने स्थान राम्रो रहेको कार्कीले जानकारी दिनुभयो ।
कारागारमा भेटघाट कक्ष छुट्टै, कागाारमा रहेको व्यक्तिलाई खाना वापत सिधा खर्च उपलब्ध गराईएको, पिउने पानी उपलब्ध गराईएको भएपनि स्वास्थ्य जाँच र औषधि उपचारमा केही समस्या रहेको छ । पत्रपत्रिका टेलिफोन, रेडियो, टेलिभिजन जस्ता नियमित समाचार तथा संचार सेवा उपलब्ध गराउने गरेको जनाएको छ ।