सिमकोटमा हेलिकप्टरमार्फत् इन्धन ढुवानी
१६ आश्विन २०७८, शनिबार ११:३५
हुम्ला । जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा यहाँका व्यवसायीले हेलिकप्टरमार्फत महँगो भाडा तिरेर इन्धन ढुवानी गरिरहेका छन् । पैदल मार्गबाट खच्चडमा नआउने र सिमकोट बजारमा इन्धन नपाइने भएपछि व्यवसायीले महँगोमा हेलिकप्टरमार्फत इन्धन ढुवानी गर्नु परेको हो । माथिल्लो हुम्लाका तीनवटा गाउँपालिकामा विकास निर्माणका काम गर्न र यातायात सञ्चालन गर्न इन्धनको अभाव देखिएपछि हेलिकप्टरबाटै ओसार्न थालिएको निर्माण व्यवसायी गणेश महतले जानकारी दिए ।
हुम्लासँग जोडिएको छिमेकी जिल्ला मुगुबाट हेलिकप्टरमार्फत इन्धन ढुवानी गरिएको हो। मुगुको ताल्चा विमानस्थलबाट हेलिकप्टरमा प्रतिलिटर २५५ तिरेर इन्धन ढुवानी गरिएको महतले बताए। यसअघि पैदल मार्गबाट खच्चडमा ढुवानी भएर आएको इन्धनको मूल्य प्रतिलिटर २१० देखि २२० सम्म पथ्र्यो। आजभोली ढुवानी गर्ने खच्चड नपाउने समस्याका कारण महँगो भए पनि हेलिकप्टरबाट ढुवानी गर्न थालिएको छ। जिल्लाका सबै निर्माण तथा यातायात व्यवसायी मिलेर ८० ब्यारेल इन्धन ढुवानी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया