काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने – Nagarikabhiyan : National News

काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ ।
महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।
भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ ।
विद्यालय सञ्चालनका लागि महानगरपालिकाले महानगरभित्रको परिस्थिति अनुसार ‘कस्टमाइज्ड मापदण्ड’ बनाएको र विद्यालयले ती २७ मापदण्ड अनिवार्य लागू गर्नुपर्ने शाखा प्रमुख सुवेदीले बताए ।
शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले विद्यालय खोल्ने जनाएको छ ।
विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालयले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने, शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ ।
यदि शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने शाखा प्रमुख सुवेदीले बताए ।
यता, ललितपुर महानगरपालिकामा भने आंशिक रुपमा विद्यालय खुलेका छन् ।
अहिले विद्यार्थी संख्या कम भएका विद्यालय खुलेको ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले बताए ।
यसैबीच, भक्तपुर नगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालनबारे अझै निर्णय गर्न सकेको छैन ।
नगरपालिकाले शिक्षक, अभिभावक, जनस्वास्थ्यविद्हरुसँग पटक–पटक छलफल गरे पनि निर्णयमा पुग्न नसकेको शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले बताए ।