‘कमेडी च्याम्पियन-२’ को विजेता भरतमणि बने
३ आश्विन २०७८, आईतवार ११:०२
काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्।
शनिबार राति भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोटका साथ ‘कमेडी च्याम्पियन २’को उपाधि हात पारेका हुन् ।
भारत सिक्किमका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बनेका छन्।
ताप्लेजुङका पौडेल पछिल्लो समय पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए। रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलको चर्चा पारस शाहको हाउभाउसहितका अभिनयले अझ चुलिएको थियो।
भरतमणीले उपाधिसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। त्यसैगरी पहिलो उपविजेता अग्रबालले टिभिएस अपाचे बाइक पाएका छन् भने सन्तोषले टिभिएस स्कुटी पुरस्कार प्राप्त गरेका छन्।
कमेडी शो’को निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बन्न सफल भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया