पाटनको संस्कृति र सम्पदा संरक्षणको लागि अक्षयकोष स्थापनाको तयारी
२० भाद्र २०७८, आईतवार १६:५४
काठमाण्डाै । पाटनको संस्कृति तथा सम्पदा संरक्षणमा लामो समयदेखि काम गर्दै आएको मङ्गलटोल सुधार सङ्घले अक्षयकोष खडा गर्ने भएको छ ।
पाटनमा मनाइने मुख्य पर्वमा स्वयंसेवक परिचालन र व्यवस्थापनका लागि कोेष स्थापना गर्न लागेको सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिरमा हरेक वर्ष भदाै कृष्णअष्टमीका दिन मनाइने कृष्णजात्रा, नवमीका दिन पाटनको टोलटोलमा मनाइने कृष्ण पूजाका साथै मङ्गलबजारको भीमसेनको खटजात्रा लगायतमा जनशक्ति परिचालन गर्दा लाग्ने खर्च जुटाउन ललितपुर महानगरपालिका–१६ बाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएपछि कोष खडा गर्न लागेको उहाँले बताउनुभयो ।
कोष खडा गरेपछि पर्वमा स्वयंसेवक खटाउन व्यक्ति–व्यक्तिसँग गएर आर्थिक सहयोग माग्नुपर्ने समस्या समाधान हुनेछ । पाटन काठमाण्डाै उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय क्षेत्र हो । पाटनमा प्रत्येक वर्ष देशकै लामो मच्छिन्द्रनाथ रथयात्रा अनि भोटो देखाउने जात्रा, कात्तिक नाच, कुम्भेश्वरमा मेला लगायत मनाइने गरिन्छ । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरी समेत घोेषणा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया