एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने
४ भाद्र २०७८, शुक्रबार १२:०५
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक दर्ता गर्न नमिल्ने भन्दै नयाँ नाम ल्याउन दुवै पक्षका नेताहरुलाई जानकारी गराएको छ ।
एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने आयोगले जनाएको छ । विद्यमान पार्टीहरुसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भन्दै २३ फागुनमा सर्वाेच्च अदालतले गरेको फैसला अनुरूप नयाँ नाम ल्याउन आयोगले भनेको हो ।
यसबारेमा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर निकट नेताहरुलाई आयोगले जानकारी गराएको छ ।
आयोगमा गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर एमाले, माओवादी ब्युँताउदा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसंग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने बताएको थियो।
आयोग स्रोतका अनुसारनेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ । त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ ।
अब दुवै पार्टीका नेताहरूले नयाँ नाम दिएपछि दल दर्ताको प्रक्रिया अगाडी बढ्ने छ ।
सरकारले राजनैतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याइदिएसँगै दुई दल विभाजित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया