कांग्रेस संस्थापनइतरका जिल्ला सभापतिको भेला आज पनि जारी – Nagarikabhiyan : National News

कांग्रेस संस्थापनइतरका जिल्ला सभापतिको भेला आज पनि जारी

काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि ठमेलमा जारी छ। ठमेलको होटल यात्रीमा केन्द्रीय सभापति शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरु सोमवारबाट भेलामा जुटेका हुन् ।

भेलामा जिल्ला सभापतिहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । १४औं महाधिवेशन तोकिएको समयमा नहुने परिस्थिति सिर्जना हुँदै गएपछि आफ्नो पक्षको रणनीति बनाउन पौडेल पक्षका जिल्ला सभापतिको भेला बोलाइएको हो । विधिसम्मत १४औं महाधिवेशनका लागि दबाब दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको भेला जारी छ।

क्रियाशील सदस्यता विवाद, तल्लो तहको अधिवेशन प्रभावित र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएपछि संस्थापनइतरका जिल्ला सभापतिको बैठक डाकिएको हो । प्रत्यक्ष ३६ जना र भिडिओ संवादमार्फत् थप १२ जिल्लाका सभापतिको छलफलमा सहभागिता रहेको कांग्रेस नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले बताए ।

जिल्ला सभापतिको भेलाको समापन सम्बोधन वरिष्ठ नेता पौडेलले गर्ने भएका छन् । पौडेल पक्षले तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने अडान पार्टीमा राख्ने भएको छ। तल्लो संरचनाका अधिवेशन छोट्याएर महाधिवेशन गर्न सकिने विकल्प पौडेल पक्षले अघि सारेको छ।