ओलम्पिक फुटबल : स्पेनको २१ वर्षको प्रतीक्षा – Nagarikabhiyan : National News

ओलम्पिक फुटबल : स्पेनको २१ वर्षको प्रतीक्षा

टोकियो । एक महिनाअघि भएको युरो कपमा स्पेनी युवा टिमले सनसनीपूर्ण प्रदर्शन गरेको थियो । उसलाई च्याम्पियन बन्ने क्रममा इटालीले सेमिफाइनलमा टाइब्रेकरमा पन्छाएको थियो । वेम्बली (लन्डन) को त्यो प्रतिस्पर्धा पहिलो रोजाइमा खेलेका पााच खेलाडीलाई उतारेको स्पेनलाई टोकियो ओलम्पिक २०२० को सेमिफाइनलमा मंगलबार आयोजक जापानले कडा टक्कर दियो ।

तर, युरोपेली क्लब फुटबलका अनुभवी खेलाडीहरूको टिमविरुद्ध घरेलु खेलाडीको मिहिनेत जापानलाई पहिलोपल्ट ओलम्पिक फाइनलमा पुऱ्याउन पर्याप्त भएन । ओलम्पिक फुटबल (पुरुषतर्फ) य–२३ टिमको प्रतियोगिता हो । यसमा हरेक टिमलाई २३ वर्षमाथिका तीन खेलाडी टिममा राख्न छुट दिइएको छ । कोरोनाभाइरसको महामारीले एक वर्ष धकेलिएको ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा एक वर्ष बढाएर यू–२४ टिमलाई खेलाइएको छ । जसमा २४ वर्षमाथिका तीन खेलाडीलाई पनि अवसर छ ।

यस कोटामा स्पेनले डयनी काभालेस, मार्को एसेन्सियो र मिकेल मेरिनोलाई टोकियो ल्याएको छ । रियल म्याड्रिडका फरवार्ड एसेन्सियो च्याम्पियन्स लिग र ला लिगा दुई–दुईपल्ट जितेका छन् । तर, उनलाई प्रशिक्षक डे ला फ्लुएन्टेले सेमिफाइनलमा पहिलो रोजाइमा खेलाएनन् । उनले ८३ औं मिनटमा मैदानमा प्रवेश गर्ने अवसर पाए । उनले मैदानमा युरो कपका उत्कृष्ट खेलाडीको अवार्ड विजेता पेड्री गोन्जालेजको स्थान लिए । यस्तोमा २५ वर्षीय एसेन्सियोले निर्णायक गोल गर्दै स्पेनलाई २१ वर्षपछि ओलम्पिक फुटबलमा फाइनलमा पुऱ्याइदिए ।

मिकेल ओयरजबलले पेनाल्टी क्षेत्रमा दिएको बललाई नियन्त्रण गर्दै एसेन्सियोले ११५ औं मिनेटमा सेकेन्ड बार च्याप्दै घुमाउरो रुपमा लोभलाग्दो गोल गरे, जसले पहिलोपल्ट ओलम्पिकको फाइनल खेल्ने जापानको सपना तुहाइदियो । यसमा जापानी गोलकिपर कोसेइ तानीको केही सीप चलेन । त्यसअघि तानीकै उत्कृष्ट प्रदर्शनमा खेल पेनाल्टी सुटआउटतिर बढेको थियो । उनले विश्वकप २००२ को आयोजना स्थल साइतामा रंगशालामा स्पेनी युवा खेलाडीको एकपछि अर्को प्रहारलाई रोकेका थिए । उनी एसेन्सियोलाई रोक्न भने असफल भए ।

एथलेटिक बिल्बाओका गोलकिपर उनाई सिमोनसहित सिनियर टिमका पाउ टोरेस (भिलारियल), ओयरजबल (रियल सोसिडाड), एरिक गार्सिया (म्यानचेस्टर सिटी), पेड्री (बार्सिलोना) र ड्यानी ओल्मो (आरबी लाइपजिग) ६ खेलाडीसमावेश स्पेनी टिमले उसकै परम्पराअनुसार बलमाथि पकड राख्यो । बल पोजेसनमा धेरै बलियो देखियो । दर्शकविहिन रंगशालामा गोलका अवसरहरू पनि सिर्जना गऱ्यो । तर, गोलकिपर तानी र माया योसिडा नेतृत्वको डिफेन्सले निरन्तर असफल बनाइरह्यो । त्यही डिफेन्सलाई चिर्ने काम गरे एसेन्सियोले ।

 

बर्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर सिटीलगायत ठूला क्लबहरूले खेलाडी छाड्न आनाकानी गरे पनि बलियो टिम बनाएको स्पेन अपेक्षाकृत रुपमै २१ व्र्षपछि ओलम्पिक फुटबलको फाइनलमा पुगेको हो । सन् १९९२ बार्सिलोनामा भएको ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण स्पेनले जितेको थियो । ओलम्पिक फुटबलको उसको त्यो नै एकमात्र उपाधि हो । स्पेन १९२० एन्टर्प र २००० सिड्नीमा रजतमै सीमित भएको थियो । उसलाई पछिल्लो फाइनलमा सामुएल एटोको टिम क्यामरुनले हराएको थियो । स्पेनले स्वर्णका लागि प्रतिस्पर्धा गर्दा जापानले सन् १९६८ (मेक्सिपो सिटी) मा कांस्य जितेयता पहिलो पदक जित्ने प्रयासमा मेक्सिकोविरुद्ध कांस्यका लागि खेल्नेछ ।

म्यानचेस्टर सिटीका डिफेन्डर कोउ इताकुरा, रियल म्याड्रिडका मिडफिल्डर ताकेफुसा कुबो, पीएसभी आइन्डहोभेनका मिडफिल्डर रित्सु डोहानसहित युरोपेली क्लबमा आबद्ध सात खेलाडीलाई पहिलो रोजाइमा उतारेको थियो । तैपनि जापानले स्पेनलाई उछिन्दै पहिलोपल्ट ओलम्पिक फाइनलको यात्रा तय गर्न सकेन ।

ब्राजिल लगातार तेस्रोपल्ट फाइनलमा

डिफेन्डिङ च्याम्पियन ब्राजिल पनि दुई घन्टाको प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा मेक्सिकोलाई पन्छाउादै उपाधि रक्षाको अभियानमा अगाडि बढेको हो ।

 

इबाराकी कासिमा रंगशालामा भएको पहिलो सेमिफाइनलमा अतिरिक्त समयको ३० मिनेट पनि गोलरहित सकिएपछि भएको टाइब्रेकरमा ४–१ को जित निकाल्दै ब्राजिल ओलम्पिक स्वर्णपदक रक्षाको नजिक पुगेको हो । ब्राजिली गोलकिपर सान्तोसले मेक्सिकोको पहिलो प्रहारमै एडुआर्डो अगुइरेलाई असफल पारिदिए । त्यसमा सान्तोसले उत्कृष्ट बचाउ गरे । त्यसपछि जोहान भास्क्वेजको प्रहारमा बल पोस्टमा लागेपछि ब्राजिललाई फाइनल प्रवेश गर्न गाह्रो भएन ।

बर्सिलोनाका ३८ वर्षीय पूर्वफुलब्याक ड्यानी आलभेस, ग्याब्रियल मार्टिनेली, ब्रुनो गुइमेरस र रेइनरले पेनाल्टी सुटआउटमा सटिक प्रहार गरेपछि ब्राजिल लगातार तेस्रोपल्ट ओलम्पिक फुटबलको फाइनलमा पुग्यो । निर्धारित समयमै ब्राजिल जितनजिक पुगेको थियो । तर, इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले ८२ औं मिनेटरमा गरेको हेडरमा गोलपोस्ट वाधक बनेको थियो । त्यसैले खेल टाइब्रेकरसम्म लम्बियो ।

लन्डन ओलम्पिक २०१२ मा स्वर्णको प्रतिस्पर्धामा मेक्सिकोले ब्राजिललाई २–१ ले हराएको थियो । घरेलु भूमिमा भएको रियो ओलम्पिक २०१६ मा भने ब्राजिल टाइब्रेकरमा जर्मनीलाई पराजित गर्दै पहिलोपल्ट ओलम्पिक च्याम्पियन भएको थियो । नेयमार प्रेरित त्यो सफलतालाई आलभेसको नेतृत्वमा ब्राजिलले टोकियोमा रक्षा गर्ने अपेक्षा गरिएको छ । यसपटक टोकियोमा स्वर्णका लागि ब्राजिल र स्पेन योकोहामा रंगशालामा शनिबार भिड्नेछन् ।