हिमाली जिल्ला मनाङसहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण – Nagarikabhiyan : National News

हिमाली जिल्ला मनाङसहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं ।  हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमणदेखिएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ८९ पुगेको छ ।

मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको शर्माले जानकारी दिए ।

यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।

यस्तै गोरखामा ११ जनामा कोरोना पुष्टि भएको छ । गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।

गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।