प्रचण्ड-नेपाल बिच भेटवार्ता, सरकारमा सहभागी हुनेबारे छलफल
१९ श्रावण २०७८, मंगलवार ११:४२
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।
भेटमा सरकारमा सहभागिताका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि प्रचण्डले पार्टीको स्थायी कमिटीमा नेता नेपाल पक्ष सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए । समसामयिक राजनीतिका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।
सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने सत्ता पक्षीय गठबन्धनका नेताहरूको प्रयास छ । तर, नेपालले भने त्यसबारेमा ठोस निर्णय गरिसकेका छैनन् । जसका कारण मन्त्रिपरिषद्ले हालसम्म पनि पूर्णता पाएको छैन ।
यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ । ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया