राजविराज नगरपालिकाको बिद्युत लाईन काटियो – Nagarikabhiyan : National News

राजविराज नगरपालिकाको बिद्युत लाईन काटियो

राजविराज ।  नेपाल विद्युत प्राधिकरण बितरण केन्द्रले बाँकी बक्योदा नबुझाउदा राजविराज नगरपालिका कार्यालयको विद्युत सप्लाई लाईन काटिएको छ ।

लामो समयदेखी विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवाना बाहेक रु १६ लाख रुँपैया बाँकी रहेको भन्दै विद्युत सप्लाई लाईन काटिएको हो ।

पटक पटक ताकेता र पत्राचार गर्दा पनि वेवास्ता गरेकाले राजविराज नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरि लाईन काटिएको बितरण केन्द्र राजविराजका प्रमुख आमोद प्रसाद यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दुई दिनअघि पनि वक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा नगरपालिकाले वेवास्ता गरेकोले बाध्य भएर बिद्युत लाईन काटिनुपरेको छ ।” साथै उहाँले “वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।” यता राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा बिद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोल वापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासी लाइन काटिनु उचित नभएको बताउनुभयो ।

नगरपालिका स्थापना भएदेखी नै विद्युत महसुल नबुझाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासी लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट संचालन हुने सबै सेवा ठप्प भएको राजविराज नगरपालिकाले जनाएको छ ।