राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त – Nagarikabhiyan : National News

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं ।  गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त पनि गरेकी थिइन्।

प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ।

संविधानको धारा १६३ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्त गर्ने र उसलाई राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै पदमुक्त गरेमा बाहेक पाँच वर्ष पदावधि हुने उल्लेख छ।