अवैध सवारी चलाउन दिन दबाब – Nagarikabhiyan : National News

अवैध सवारी चलाउन दिन दबाब

परासी । अवैध भारतीय नम्बर प्लेटका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पश्चिम नवलपरासीमा क्रियाशील राजनीतिक दलले विरोध जनाएका छन् । आइतबार मात्रै प्रहरीले ४० वटा भारतीय नम्बर प्लेटका मोटरसाइकललाई नियन्त्रण लिएपछि उनीहरूले विरोध जनाएका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीलगायत दलका प्रतिनिधि र प्रदेशसभा सदस्य वैजनाथ जैसवालको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई ज्ञापनपत्र बुझाउँदै कागजपत्र नभएका भारतीय नम्बर प्लेटका सवारीसाधनलाई बिनारोकटोक चलाउन दिनुपर्ने माग गरे । जनता समाजवादी पार्टी नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले कोरोनाका कारण भन्सार गर्न नपाएको र यसअघि पनि भारतीय कागजपत्र देखाएर सवारीसाधन सञ्चालन भएकाले व्यावहारिक रूपमा तत्काललाई कडाइ नगर्न आग्रह गरिएको बताए । सीमावर्ती क्षेत्र भएकाले दक्षिणी भेगका अधिकांश सर्वसाधारणले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्दै आएका छन् । नेपालमा भारतमा भन्दा तीन गुणा महँगो पर्ने हुनाले भारतमा आफन्तको नाममा सवारीसाधन खरिद गरेर नेपालमा प्रयोग गर्ने गर्छन् ।

भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कागजपत्रबिना सञ्चालित त्यस्ता सवारीसाधन अपराध र चोरी पैठारीमा प्रयोग हुन सक्ने भन्दै अहिले प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ । कार्यकर्ताले दलका नेता र सांसद लगाएर छुटाउन प्रमुख जिल्ला अधिकारीलाई दबाब दिन थालेका छन् । प्रमुख जिल्ला अधिकरी मिश्रले नियमअनुसार सञ्चालन नभएका सवारीसाधन नियन्त्रणमा लिन राजनीतिक दलले आफूलाई सहयोग गर्नुपर्ने बताए ।

ब्लुबुकलगायत कागजपत्र नभएका सवारीसाधन नियन्त्रणमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवले बताए । अधिकांश मोटरसाइकलमा कागजपत्र नरहेको र भन्सार सुविधा र सहुलियतबिनै खुलेआम चल्न थालेपछि नियन्त्रण लिने निर्णय गरेको प्रजिअ मिश्रले बताए । विदेशबाट आउने सवारीसाधनको हकमा कार, जिप र भ्यानमा दैनिक ५ सय रुपैयाँ र मोटरसाइकल र स्कुटरलाई १ सय रुपैयाँ भन्सार महसुल लाग्ने कानुनी व्यवस्था छ ।