एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
५ श्रावण २०७८, मंगलवार ०७:५७
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।
बैठक मंगलबार तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्न लागेको हो। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो।
उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताए ।अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको उनले बताए ।
वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)अनुसार बन्ने सरकारलाई विश्वासको मत दिँदा दलीय ह्विप नलाग्ने व्याख्या गरेको र पार्टीले कारबाही वा स्पष्टीकरण सोध्न नपाउने नेपाल पक्षका सांसदको तर्क छ। केन्द्रीय कमिटीमा नेता नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया