जीप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते – Nagarikabhiyan : National News

जीप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका- १ , पुर्णगाउँतर्फ जाँदै गरेको जीप बुधबार दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बुधबार साँझ मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि वडा नम्बर १ पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २ को मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएकाे हाे । त्यस क्रममा मंगला- १ का १३ वर्षीय विमल विक र बेनी नगरपालिका- ५ की २० वर्षीया सबिना भण्डारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताए ।

जीप दुर्घटनामा परेर पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी, ८ वर्षीया एडिना नेपाली र ३५ वर्षीया गीता खत्री घाइते भएका छन् । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार रातको समयमा दुर्घटना भएकोले कारण खुल्न सकेको छैन ।