क्वारेन्टाईनमा सुविधाको अभाव भएको आरोप
२६ जेष्ठ २०७७, सोमबार १८:२५
इनरुवा । सुनसरीको विभिन्न ठाउँमा रहेको क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको पीडितहरुले आरोप लगाएका छन ।
हाल जिल्लामा १२ स्थानीय तहको २६ स्थानमा कुल एक हजार २८६ वेड क्षमताको क्वारेन्टाईन सञ्चालनमा रहेकोमा प्रायः सबैतिर आधारभूत सुविधा अभाव देखिएको पीडितहरुले आरोप लगाएका हुन ।
अनुगमनका क्रममा क्वारेन्टाईनमा रहेकाहरुले आफूहरुलाई यहाँ बस्न आधारभूत सुविधा नदिएको र खान, बस्न, सरसफाई तथा अन्य सुविधा अभाव देखिएको बताएका छन् ।
अभावका कारणले कोरोना सक्रमण बढ्ने र स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गुनासो गरेका छन् । यहाँ रहेका एक हजार २८६ सैयाको क्वारेन्टाइनमा हाल ८४१ जनालाई राखिएको छ । उनीहरुलाई प्रयोग गर्न सरसफाईको सामग्री साबुन , पानी र स्यानिटाइजर , समयमा खाना, नास्ता र बस्ने व्यवस्था राम्रो नगरेको हरिनगर क्वारेन्टाईनका सतार मियाँले गुनासो गर्नुभयो ।
मियाँले आफूहरु कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको बताउनुभयो । इनरुवाको भगवती माविमा रहेका एक जनाका अनुसार स्वास्थ्यकर्मीको निगरानी नभएको, समयमा खान नदिएको, सौचालय र पानीको राम्रो व्यवस्था नभएकाले समस्या भएको छ ।
इनरुवामा साबुन नहुँदा आफूहरुले प्रयोग गर्ने साबुनको समेत समस्या रहेको र कोरोना पुष्टी भएको कोठामा बस्नेलाई सहजताका लागि सुरक्षा नगरेको र सरसफाई समेत नगरेको उनीहरुको आरोप छ । क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले समन्वय नगरेको जनाइएको छ ।
स्वास्थ्य शाखा इनरुवाले क्वारेन्टाइनमा बस्नेहरुलाई नआत्तिन भनरे हौसाला दिइएको बताउनुभयो । उता सुनसरीमा सोमबार थप १ जनामा कोरोना पुष्टि भएको छ । कोसीको राजा पोखैर क्वारेनटाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । उहाँको परीक्षण प्रादेशिक प्रयोगशाला कोसी अस्पतालमा गरिएको थियो ।
उहाँ भारतबाट आएर क्वारेनटाइनमा बस्नुभएको बताइएको छ ।
इनरुवाको भगवती माविको क्वारेन्टाइनमा बस्दै आएका मानिसहरु मध्ये सनिवार कोरोनाको परीक्षण गर्दा दुई जानामा कोरोना पोजेटिभ देखिएकादे क्वारेन्टाईनमा बस्नेहरु आतिएका छन् । दुईजानामा कोरोना पोजेटिभ रिपोर्ट आएकाले बाकी रहेकाहरु संशकित बनेका छन् ।
इनरुवा बस पार्कको क्वारेन्टाइनमा बस्दै आएका सबैजानाको भने दैनिक निगरानी र चेकजाँच दिनमा २ पटकसम्म गरिएको भएपनि भगवतीको क्वारेन्टाइनमा बस्दै आएकाको परीक्षण र निगरानी नियमित नगरेको गुनासो आएको छ ।
क्वारेन्टाइनमा बस्दै आएकाको परीक्षण र निगरानी नियमित नगरेको गुनासोका बारेमा इनरुवा नगर प्रमुख राजन मेहताले खण्डन गर्नुहुदै काम भईरहेको बताउनुभयो । उता सुनसरीका प्रमुख जिल्ला अधिकरी राजेश पौडेलले पालिकाहरुले व्यवस्थापन गरेको प्रतिकृया दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया