अन्तर्राष्ट्रिय उडान बिहीबारबाट खुल्दै
९ असार २०७८, बुधबार २०:००
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान तत्काल गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्दै थप स्पष्टको लागि उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाइ शाखा प्रमुख बुद्धिसागर लामिछानेले जुलाई १ अर्थात् असार १७ गतेबाट आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने निर्णय भएको बताए ।
मन्त्रालयले सूचना नै जारी गर्दै असार १७ बाट कुल उडान संख्याको ५० प्रतिशत बढ्ने गरी आन्तरिक उडान गर्ने जनाएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय उडान उडान ९ वटा एयरलाइन्सले गर्न पाउने भएका छन् । मन्त्रालयले जुन ३० अर्थात् असार १६ गतेसम्मको उडानतालिका सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले २४ तारिखमा दोहा, २५ तारिखमा जापान, २७ तारिखमा दोहा, २८ तारिखमा दुवई, २९ तारिखमा दोहा र ३० तारिखमा दुवई उडान गर्ने भएको छ ।
त्यस्तै हिमालय एयरलाइन्सले २७ तारिखमा दुवई र क्वालालम्पुर, २८ तारिख दमाम र ३० तारिखमा दमाम उडान गर्न पाउने भएको छ ।
कतार एयरवेजले ३० तारिखसम्म ४ उडान तालिका रहेका छन् । कतार एयरवेजले जुन २६, २७, २८ र ३० तारिखमा उडान गर्न पाउनेछन् । टर्किस एयरलाइन्सले २४, २६ र २९ तारिखमा इस्तानबुल–काठमाडौं उडान हुँदैछ । जजिराले २७ र ३० तारिख कुवेत–काठमाडौं उडान गर्नेछ ।
फ्लाई दुवईले २९ तारिखमा दुवई–काठमाडौं उडान गर्नेछ । त्यस्तै सलम एयरले २९ तारिखमा काठमाडौं–ओमान उडान गर्दैछ ।
एयर अरेबिया २६ तारिखमा आवुधाबी–काठमाडौं उडान गर्नेछ । त्यस्तै एयर इन्डियाले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया