हात्तीको बच्चा जन्मेको केही घण्टामा मरे – Nagarikabhiyan : National News

हात्तीको बच्चा जन्मेको केही घण्टामा मरे

इनरुवा । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको हात्ती मध्ये लक्ष्मीकलीले जन्माएको बच्चा जन्मदिएको केही घण्टामै मरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका लक्ष्मीकलीले शुक्रबार साँझ ५ बजेतिर जन्मदिएको बच्चा राति ११ बजे मरेको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा हेरचाह गर्ने प्राविधिक नहुँदा हात्तीको बच्चाको ज्यान गएको स्थानीयहरूले दाबी गरेको भएपनि समय अगावै हात्तीले बच्चा जन्म दिएकोले मरेको आरक्ष प्रशासनले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोषकुमार भगतले सामान्यतया २२ देखि २४ महिनासम्ममा हात्तीले बच्चा जन्म दिनुपर्नेमा १३ वर्षको लक्ष्मीकलीले १६ महिनामै जन्म दिएकोले अकालमा बच्चाको मृत्यु भएको बताउनुभयो ।

लकडाउनको समयमा चितवनबाट प्राविधिकको टोली ल्याउने तयारी गरे पनि समय नपुगेकोले बच्चाको अवस्था कम्जोर भएको हुँदा बचाउन नसकिएको उहाँले बताउनुभयो ।

कोशी गाउँपालिकामा प्राविधिक भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट सहयोगका लागि खबर नआएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

कोशीटप्पु वन्यजन्तु आरक्ष सबैको साझा सम्पत्ति भए पनि अहिलेको आरक्ष प्रशासन एकलौटी चल्न खोजेको अन्सारीको आरोप छ ।