सुदूरपश्चिम सरकारको विषयमा सर्वाेच्चले अन्तरिम आदेश दिन मानेन – Nagarikabhiyan : National News

सुदूरपश्चिम सरकारको विषयमा सर्वाेच्चले अन्तरिम आदेश दिन मानेन

काठमाडौँ । मन्त्रीको संख्यासम्बन्धी विवादमा सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले उक्त रिटमा धारा १६८ को ९ को विषय समावेश भएकाले तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको छ । सुदूरपश्चिममा प्रदेशसभा संख्याको २० प्रतिशतभन्दा बढी मन्त्री रहेको भन्दै अधिवक्ता कमलसिंह राना, अपेक्षा निरौला र सुरेश रोकायाले रिट दायर गर्नुभएको थियो । उहाँहरुले ५२ सदस्यीय प्रदेशसभामा ११ सदस्यीय मन्त्रिपरिषद बनाउनु संविधानको धारा १६८ विपरीत हुने जिकिर गर्नुभएको थियो ।

आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, रमण श्रेष्ठ, गोविन्द बन्दी, दीनमणि पोखरेलले सुदूरपश्चिम प्रदेश सरकारले संविधानअनुसार नै मन्त्रिमण्डल विस्तार गरेको तर्क गर्नुभएको थियो ।

रिट निबेदनकको तर्फबाट आइतबार अधिवक्ता अपेक्षा निरौला, दलबहादुर धामी, रामबहादुर शाही, महेश भट्टराई र सन्तोष भण्डारीले बहस गर्नुभएको थियो ।

दुवै पक्षको बहसपछि अहिले नै अन्तरिम आदेश जारी गर्न नमिल्ने बताइएको छ । ज्योतिन्यूज

पूर्ण सुनुवाइका लागि नियमानुसार पेश गर्न भनिएको छ । यो सँगै सुदूरपश्चिम सरकारमा थपिएका मन्त्रीहरुलाई काम गर्न सहज भएको छ ।