काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो हुँदै, सिडिओहरू छलफलमा – Nagarikabhiyan : National News

काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो हुँदै, सिडिओहरू छलफलमा

काठमाडौँ । काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी गरिरहेका छन् । आज अपरान्ह ३/ ४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरू बैठक बस्ने तय भएको काठमाडौँका प्रजिअ कालिप्रसाद पराजुलीले बताए ।

उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए । निषेधाज्ञा थप खुकुलो बनाउँदै लैजाने भनिएको छ । अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् ।

अब निश्चित समय दिएर कपडा पसललगायत पनि खुल्न दिनेबारे छलफल भइरहेको छ । कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ । यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो ।

जोर÷बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन ।