अझै केही दिन निरन्तर पानी पर्ने सम्भावना,सतर्क रहन आग्रह
६ असार २०७८, आईतवार ०८:२४
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज मुलुकका विभिन्न स्थानमा ‘भारी’ वर्षा र केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन, चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीले बताइन् । त्यस्तै आज राति प्रदेश–१, प्रदेश–२ तथा वागमती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया