वन उपभोक्ता समूहका दुई कोषाध्यक्ष परे अख्तियारको फन्दामा – Nagarikabhiyan : National News

वन उपभोक्ता समूहका दुई कोषाध्यक्ष परे अख्तियारको फन्दामा

सिन्धुली । सामुदायिक वन उपभोक्ता समूहका २ कोषाध्यक्ष घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीनपाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष मिनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार घोलेको साथबाट ३ लाख र रानाको साथबाट ३० हजार पाँच सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो । दुबै समुहका कोषाध्यक्षले तीनपाटन गाउँपालिका १० मा सेवाग्राहीले सञ्चालन गरेको एक कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको ९ मा लैजान दिने भनी तीन लाख ३० हजार पाँच सय रुपैयाँ रकम लिएका थिए ।

पक्राउ परेका घोले र रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासमा लगिएको छ ।