नयाँगठित सरकारले पूर्व मुख्यमन्त्रीहरुलाई सम्मान गर्ने गण्डकी मन्त्रिपरिषदको निर्णय
३० जेष्ठ २०७८, आईतवार १४:१५
पोखरा । गण्डकी प्रदेश सरकारको नयाँगठित सरकारले पूर्व मुख्यमन्त्रीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको प्रवक्ता कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ’ ।
यसबर्षको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले नै प्रस्तुत गर्नुहुने भएको छ ।
जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ । त्यसको पूर्वसन्ध्यामा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले भन्नुभयो, ‘उहाँसँग मुख्यमन्त्री अहिले अर्थमन्त्रालय पनि छ । बजेट नीति तथा कार्यक्रम पनि उहाँले नै वाचन गर्नुहुन्छ ।’
नेपाली कांग्रेसका पोखरेल शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँसगै चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राख्नुभएको छ ।
छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उहाँले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताउनुभयो ।
प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिनुभयो । ‘विश्वासको मत नलिइकन, सरकार स्थिर नभइकन महत्वपूर्ण काम किन गर्नुभो भनेर प्रश्न उठाएको हो । त्यो प्रश्न हामीमाथि पनि आउँछ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो ‘मुख्यमन्त्री र निवर्तमान मुख्यमन्त्रीबीचको छलफल भइसकेपछि त्यो अनुसार हुन्छ ।’
उहाँले प्रमुख प्रतिपक्षीसँग समन्वय गरेर सरकार अगाडि बढ्ने बताउनुभयो । हिजो मुख्यमन्त्री पोखरेलसँगै अन्य चार मन्त्रीले शपथ लिएका थिए । नेपाली काँग्रेस, माओवादी, जनमोर्चा, जसपा र स्वतन्त्र सांसद दिपक मनाङेसहितको सरकार गठन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया