बलुवाटरमा ५० प्रतिशत अनुदानमा उन्नत जातको धान बिउ वितरण भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ का ५५ जना किसानले पायो धानको विउँ
२९ जेष्ठ २०७८, शनिबार १८:५५
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ मा भोक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेको छ ।
सहकारी संस्थाले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ बलुवाटरका ५५ जना किसानहरुलाई आवश्यकता अनुसार राधा १२ जातको धानको बिउ वितरण गरिएको सहकारीका अध्यक्ष उमेश कुमार मेहताले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष मेहताका अनुसार भोक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १, बलुवाटारलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएपछि शनिबार किसानहरुलाई वितरण गरिएको हो ।
सहकारी संस्था मार्फत पहिलो पटक बलुवाटारका किसानहरुले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको विउ पाएका हुन् । यहाँका ५५ जना किसानहरुले धानको विउँ पाएपछि खुसी भएका छन् । किसानलाई अगामी दिनमा पनि गाउँपालिका र भोक्राहा साना किसान कृषि सहकारी संस्थाको साथ चाहिएको किसानहरुले बताएका छन् ।
विउँ वितरण कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चौधरी, नेपाली काग्रेँस भोक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दाहाल, पशुपति शिक्षा मन्दिर भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ का प्रधानाध्यापक पवन मेहता, श्यामाश्याम कृषि सहकारी संस्थाका अध्यक्ष प्रविण मेहता, भोक्राहा साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष सुरेन्द्र मेहता लगायतको उपस्थिती रहेको थियो ।
यता कोरोना भाइरसको मारमा रहेका किसानहरुको सहजताका लागि भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चौधरीले बिदाको समयमा समेत नियमित कार्यलयमा उपस्थित भई किसानहरुको लागि नियमित काम गरी विभिन्न कार्यक्रमहरु सञ्चानमा ल्याएको बताइएको छ । यहाँ ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गर्नका लागि भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ११ वटा कृषि सहकारी संस्थाहरुसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो पटक किसानहरुलाई उन्नत जातको धानको विउँ वितरण गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया