सभामुख र शीर्ष नेताहरुबीचको छलफल सुरु, पाँच पूर्वप्रधानमन्त्री सहभागी – Nagarikabhiyan : National News

सभामुख र शीर्ष नेताहरुबीचको छलफल सुरु, पाँच पूर्वप्रधानमन्त्री सहभागी

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा र प्रमुख दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ ।संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सभामुखले शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा पाँच पूर्वप्रधानमन्त्री सहभागी छन् । यस्तै प्रमुख दलका अन्य नेताहरु पनि सहभागी रहेको जनाइएको छ ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई छलफलमा सहभागी छन् । एमालेका बरिष्ठ नेता झलनाथ खनाल जुममार्फत् छलफलमा सहभागी हुने बताइएको छ ।

त्यस्तै छलफलमा जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको थियो । तर प्रधानमन्त्री ओली भने सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।नेतालाई पठाइएको सभामुखले समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ।