उपप्रधानमन्त्री महत्तोको संविधानबिरोधी अभिव्यक्तिबारे स्पष्ट पार्न नेपाल–खनाल समूहको माग
२२ जेष्ठ २०७८, शनिबार २०:०५
काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भलनाथ खनाल समूहका स्थायी समिति सदस्यहरुले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्री राजेन्द्र महत्तोको संविधानबिरोधी अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका छन् । शनिवार सामूहिक वक्तव्य जारी गर्दै राष्ट्रिय अखण्डताबिरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो¥याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ । यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’ नेपाल र खनालसहित स्थायी समितिको सामूहिक वक्तव्यमा भनिएको छ ।
नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया