सुदूरपश्चिममा ओली बलियो बन्दै, ३ प्रदेश सांसदले छोडे नेपालको साथ – Nagarikabhiyan : National News

सुदूरपश्चिममा ओली बलियो बन्दै, ३ प्रदेश सांसदले छोडे नेपालको साथ

 

कैलाली । नेकपा एमाले विवादमा केन्द्रलाई टक्कर दिने अहिले सुदूरपश्चिम प्रदेशमात्र देखिएको छ । भीम रावल नेतृत्वको माधव नेपाल पक्षीय एमाले अन्य प्रदेशको तुलनामा यहाँ बलियो छ ।

पार्टी केन्द्रको निर्णयविपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्ष माओवादी नेतृत्वको सरकारमा सामेल भयो । आफ्नै पार्टीविरुद्ध लागेर माओवादीको सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले कारबाही प्रक्रिया अघि बढाएको छ । केन्द्रमा बढ्दो विवादको प्रभावस्वरुप सुदूरपश्चिममा पनि एमालेको माधव नेपाल पक्षले संस्थापन पक्षलाई चुनौती दिएको छ । तर, प्रदेशसभाबाहेक राज्यका अरु तह र पार्टीमा माधव पक्ष कमजोर छ ।

सुदूरपश्चिममा राष्ट्रियसभा, विघटित प्रतिनिधिसभा, स्थानीय तह र पार्टी केन्द्रमा कुन पक्षका कति-कति छन् ? यस्तो छ हिसाब :
राष्ट्रियसभामा नेपाल पक्षका एकजना मात्रै
राष्ट्रियसभामा सुदूरपश्चिमबाट चार सदस्य सहभागी छन् । तीमध्ये तीन जना ओली पक्षमा छन् भने एक जना नेपाल पक्षमा छन् । ओली पक्षमा रहेका कञ्चनपुरमा इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही र कैलालीकी शारदा भट्ट छन् । नेपाल पक्षमा अछामका शेरबहादुर कुँवर एक्ला छन् ।
विघटित प्रतिनिधिसभामा दुई गुणा बढी संस्थापन पक्ष
विघटित प्रतिनिधिसभामा सुदूरपश्चिमबाट सहभागी सदस्यमा एमालेको संस्थापन पक्षका धेरै छन् । प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद थिए । तीमध्ये ओली पक्षमा ९ जना र नेपाल पक्षमा ३ जना मात्रै छन् । समानुपातिकसमेत जाेड्दा ओली पक्षमा १२ र नेपाल पक्षमा ५ जना हुन्छन् ।

कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, डोटीका प्रेम आले, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन् । नेपाल पक्षमा भने अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट छन् । भट्ट नेपाल पक्ष भित्र पनि घनश्याम भुसाल निकट हुन् । विघटित प्रतिनिधिसभामा एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जना थिए । कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु नेपाल पक्षमा छन् भने कञ्चनपुरकी निरु पाल, विना बुढाथोकी र बझाङकी आशा विक ओली पक्षमा छन् ।
माओवादीबाट निर्वाचित लेखराज भट्ट र गौरीशंकर चौधरीमा पनि एमाले प्रवेश गरेपछि ओली पक्ष थप बलियो भएको छन् ।५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखबाहेक २४ जना एमालेका सांसद छन् । केही दिनअघिसम्म २४ मध्ये १८ सांसद माधव पक्षमा थिए भने ६ सांसद संस्थापन अर्थात् ओलीपक्षतिर ।
तर, पछिल्लो सयम सदूरपश्चिमका प्रभावशाली तीन सांसद संस्थापनतिर लागेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ, कुलवीर चौधरी र बलदेव रेग्मी अहिले ओली पक्षमा देखिएका छन् । तामाङ र चौधरी कञ्चनपुरका हुन् भने रेग्मी बाजुराका हुन् ।

ban

यसअघि कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लिलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा ओली पक्षमा थिए । बोहराबाहेक सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमालेका ८ जना समानुपातिक सांसदमध्ये एक जना मात्रै ओली पक्षमा छन् । अन्य ७ जना नेपाल पक्षमा छन् । पूर्णा जोशी, मना साउद, अर्चना गहतराज, माया भट्ट, दुर्गा विक, चुनकुमारी चौधरी र सुशीला बुढाथोकी समानुपातिक सांसद हुन् ।

प्रत्यक्षतर्फ माधव पक्षका अमरबहादुर साउद, कृष्णराज सुवेदी, दीर्घ सोडारी, प्रकाश शाह, प्रकाश रावल, लालबहादुर सोडारी, लालबहादुर खड्का र हर्कबहादुर कुँवर छन् ।
पार्टी केन्द्रमा ओली पक्षका दोब्बर
पार्टीको २६१ सदस्य केन्द्रीय कमिटीमा सुदूरपश्चिम प्रदेशका २५ जना छन् । तीमध्ये ओली पक्षका १७ जना छन् भने नेपाल पक्षका ८ जना छन् । लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, गौरीशंकर चौधरी झपट बोहरा, लीला भण्डारी, प्रेम आले, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह छन् । नेपाल पक्षमा भने भीम रावल, झपट रावल, गरिमा शाह, विक्रम शाही, रामकुमार ज्ञवाली, भानुभक्त जैसी, निरा जैरु र प्रकाश शाह छन् ।

तीन जिल्लामा नेपाल पक्ष शून्य

८८ स्थानीय तहका पदाधिकारीमध्ये ५० जना ओली पक्षका छन् । नेपाल पक्षमा २९ जना पदाधिकारी छन् । प्रदेशका ७ पदाधिकारी अझै खुलेका छैनन् । बैतडी, दार्चुला र बाजुरामा माधव पक्षका एक जना पनि पदाधिकारी छैनन् ।मा छ ।