जसपामा दुवै पक्षले फर्काएनन् स्पष्टीकरणको जवाफ – Nagarikabhiyan : National News

जसपामा दुवै पक्षले फर्काएनन् स्पष्टीकरणको जवाफ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक पक्षले अर्को पक्षलाई सोधेको स्पष्टीकरणको जवाफ कसैले दिएको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए भने अध्यक्ष यादवले पनि अध्यक्ष ठाकुरलाई नौ बुँदे स्पष्टीकरण सोधेका थिए ।

दुवै पक्षले जेठ ११ गते पत्र लेखेर एक अर्कालाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनेका थिए । तीन दिने म्याद जेठ १३ गते नै सकिए पनि दुवै पक्षले एकअर्कालाई जवाफ दिएका छैनन् ।

विवाद उत्कर्षमा पुगेपछि अब वार्ताको माध्यमबाट पार्टीको समस्या समाधान गर्ने पहल सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘जवाफ आएको छैन । पार्टीमा देखिएको विवाद वार्ताबाट समाधान गर्ने प्रयास भइरहेको छ ।’ पार्टीका नेताहरूबाट अनुशासन उल्लंघन भएको कारण स्पष्टीकरण सोधिएको तर जवाफ नआएपछि अब वार्ताको माध्यमबाट विवाद समाधान गर्ने प्रयास गरिने उनले बताए ।

जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पनि अवैधानिक रुपमा सोधिएको स्पष्टीकरणको कुनै जवाफ नदिने बताए । ‘हामीले सोधेको स्पष्टीकरणको जवाफ आएको छैन । त्यसबारे के गर्ने भनेर पार्टीमा छलफल गरेर अगाडि बढ्छौँ,’ उनले भने ।

अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र चित्त बुझ्दो जवाफ नदिएको पार्टीको विधान अनुसार कारवाही गर्ने उल्लेख छ तर अध्यक्ष ठाकुरले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र जवाफ नआए के गर्ने भनेर उल्लेख छैन ।