राष्ट्रपतिले दिइन् बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना
१२ जेष्ठ २०७८, बुधबार ०८:४६
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् ।
शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् ।
सम्पूर्ण विश्वयले कोभिड–१९ का महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेकी छन् ।
त्यस्तै, राष्ट्रपतिले किराँत समुदायको महान् पर्व उभौलीका शुभअवसरमा आजै स्वदेश तथा विदेशका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उभौलीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छन् ।
जाडो सकिएर गर्मी शुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस, जीवजन्तु तथा पशुपक्षी बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतिपूजक किराँत समुदायले वैशाखेपूर्णेको दिन उभौली पर्व मनाउँछन् ।
यो समय बालीनाली लगाउने बेलासमेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्, रोगव्याधि नलागोस्, खडेरी, बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाका साथै काठमाडौं उपत्यकामा बसोबास गर्दैआएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया