काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप – Nagarikabhiyan : National News

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएको छ । यो अवधिमा खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर बन्द रहनेछ । तरकारी पसल बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ ।

विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ । मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ ।

‘यसअघिको निषेधाज्ञाभन्दा अब हुने प्रावधानमा कडा सर्त छन् । उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ । आदेशका प्रावधान पछिल्लो पटक जारी गरिएको कोभिड सम्बन्धी अध्यादेश अनुरुप हुने छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने ।

निषेधाज्ञामा सर्वसाधारणलाई मर्निङ र इभिनिङ वाकका लागि घरबाट निस्कनेलाईसमेत कारबाही गरिने भएको छ । उपत्यकामा यसअघि उपत्यकाभित्र जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो ।