मोरङमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्ब्याइयो – Nagarikabhiyan : National News

मोरङमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्ब्याइयो

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जेठ १७ गतेसम्मका निषेधाज्ञाको समयावधि थप गर्ने निणर्य गरेको छ ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले ६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

सुनसरी,मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । तीनवटै जिल्लामा समान समयनवधिका लागि निषेधाज्ञा थप गरिने प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक खाद्यवस्तु, दूध, डेरीको पसल, तरकारी फलफूल, माछामासुका पसलहरु, इन्धन, ग्यास पसल विहान १० बजेसम्म सञ्चालन गर्न दिइने बताइएको छ । औषधिका पसल र अत्यावसेक सवारी साधनलाइ भने रोक लगाइएको छैन ।