विपक्षी गठबन्धनले आज सर्वोच्चमा मुद्दा हाल्दै – Nagarikabhiyan : National News

विपक्षी गठबन्धनले आज सर्वोच्चमा मुद्दा हाल्दै

काठमाडौं । विपक्षी गठबन्धनका चार दल र एमालेको नेपाल–खनाल समूहले प्रतिनिधि सभा विघटनविरूद्ध आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन् ।

विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनको कदमविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी गरेका हुन् । हिजो नै रिट लिएर सर्वोच्च जाने भनिए पनि तयारी नपुगेकाले आज मुद्दा दायर गर्न लागिएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्चमा मुद्दा दायर गर्न लागेका हुन् ।

हिजो तयार भएको रिटमा सांसदले हस्ताक्षर गरेका छन् । अहिलेसम्म कति सांसदले हस्ताक्षर गरे भन्ने गठबन्धनले बताएको छैन । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १ सय ४९ भन्दा बढी सांसद पुगेको दाबी गर्नुभएको छ । सबै सांसद जम्मा भएर कार्यालय खुल्नासाथ सर्वोच्च अदालतमा उपस्थित हुने उहाँले बताउनुभयो ।